परपुरुषसँगको सम्बन्ध खुल्ने डरले सौतेनी आमाले ११ वर्षीय छोराको 'हत्या गरेको' प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कोहलपुर- १० रामनगरका भूमिका कुँवर भण्डारीले अरूसँगको सम्बन्ध सार्वजनिक हुने शंकाले लालसिंह भण्डारीको हत्या गरेको कोहलपुर प्रहरीले जनाएको छ । उनका पति प्रेमबहादुर प्रहरी जवान हुन् । उनी घर नभएका बेला भूमिकाले परपुरुषलाई घरमै ल्याउने गरेकी थिइन् ।
उनको सम्बन्धबारे छोराले थाहा पाएपछि हत्या गरिएको इलाका प्रहरी कोहलपुरका प्रमुख जनकबहादुर शाहीले बताए । मृतक बालककी आमा भने बाजुरास्थित घरमै बस्छिन् । उनलाई पढाउन भन्दै बुबाले कोहलपुरमा डेरा लिई कान्छी श्रीमतीसँगै राखेका थिए । लालसिंह कोहलपुरस्थित त्रिभुवन उच्चमाविमा कक्षा ८ मा अध्ययनरत थिए ।
साताअघि बालक मृत भेटिएपछि प्रहरीले अनुसन्धान थालेको हो । घटनाको प्रकृति हेर्दा हत्या भएको शंकमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । 'प्रारम्भिक अनुसन्धानमा सौतेनी आमाको परपुरुषसँगको सम्बन्ध खुल्ने डरले हत्या गरिएको खुलेको छ ।
सोधपुछ बाँकी नै छ । उनका छिमेकीले पनि पति घरमा नहुँदा अपरिचित पुरुष भूमिकाको डेरामा आउजाउ गरेको बताएका छन्,' प्रहरी नायब उपरीक्षक शाहीले भने, 'बालकले सौतेनी आमाको व्यवहार थाहा पाएको र बुबालाई भन्ने शंकामा घटना घटाएको पाइएको छ ।'
मृतकका बुबा प्रेमबहादुरले पनि कान्छी श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेको दाबी गर्दै प्रहरीमा जाहेरी दिएका थिए । उनले आफ्नो कर्तुतबारे सार्वजनिक हुने डरले छोराको हत्या भूमिकाले नै गरेको लिखित आरोप लगाएका छन् । उनले छोराको हत्या गर्ने श्रीमती र सहयोग गर्ने व्यक्तिको पहिचान गरी कडा कारबाहीको माग गरेका छन् ।
Post a Comment